सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदनपछि बसेको पहिलो गठबन्धनको बैठक मूलतः एमसीसी कार्यान्वयनको विषयमा छलफल भएको छ । चार दलको बैठकमा एमसीसी अनुमोदनका लागि सहमति जुटेकोमा प्रधानमन्त्रीले सबैलाई धन्यवाद व्यक्त गरे ।
‘विकसित राजनीतिक परिस्थितिमा सरकार, गठबन्धनको भूमिकाको विषयमा छलफल केन्द्रीत भयो ।’, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । खासगरी, एमसीसी परियोजना पाँच वर्षभित्र कार्यान्वयन हुन नसके सहयोग फिर्ता जाने बताउदै मन्त्री कार्कीले यसलाई समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको पनि बताए ।
सार्वभौम संसदमा अवरोध छ, जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, हवाई उड्डयन जस्ता विधेयकहरु छन्, संसद सञ्चालन एवम् राष्ट्रिय समस्याका विषयमा छलफल केन्द्रीत भएको उनको भनाइ छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीलगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।








