सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता बीच भएको छलफल सकिएको छ । बिहीबार साँझ ७ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक केहीबेर अघि सकिएको हो ।

बैठकमा प्रधानमन्त्री देउवाले सबैको सहमतिमा एमसीसी अनुमोदन गर्ने प्रस्ताव गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री देउवाको प्रस्तावमा एमाले अध्यक्ष ओलीले पुरानै कुरा राखेको उनको भनाइ छ ।

बैठकमा नेपाली काँग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेकपा एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए ।

आज दिउँसो पनि दुई प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच संसद् भवनमा छलफल भएको थियो । उक्त छलफलमा दुई अध्यक्षबीच साँझ पुनः बैठक बस्ने सहमति गरी सकिएको थियो ।