प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
प्रतिनिधि सभाको एक चौँथाइ सांसदहरुको हस्ताक्षरसहित आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।
उनले करिव ३/४ महिनादेखि सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानन्यायाधीश राणा असफल भएकोले महाअभियोगको प्रस्ताव दर्ता गरिएको बताए ।
प्रधानमन्यायाधीश राणाले सर्वोच्च अदालतको गरिमा जोगाउन नसक्नुभएको ठहरसहित यो महाअभियोगको प्रस्ताव दर्ता भएको जानकारी नेता गुरुङले दिए ।
संविधानको धारा १०१ को उपधारा २ बमोजिम प्रधानन्यायाधीश राणा विरुद्द महाअभियोगको प्रस्ताव दर्ता भएको नेता गुरुङले बताउनुभयो ।
संविधानको धारा १०१ को उपधारा २ मा संविधानको उलंघन वा पदीय दायित्व निर्वाह गर्न नसकेको अबस्थामा प्रधानन्यायाधीश वा सर्बोच्च अदालतका न्यायाधीश वा न्याय परिषदका सदस्यहरु वा संवैधानिक निकायका प्रमुखहरु विरुद्द प्रतिनिधि सभाको तत्काल कायम रहेको एक चौँथाइ सदस्यहरुले महाअभियोगको प्रस्ताव दर्ता गराउनसक्ने भन्ने उल्लेख छ ।
यसैबीच, संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार महाअभियोग प्रस्तावको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ र समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद रहेका छन ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि गर्दै आएको आन्दोलन अहिले पनि जारी छ ।








