तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिनुभयो । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्ष आज मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन ।

समितिका कार्यकारी निर्देशक वसन्त लामा यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर बौद्ध क्षेत्रका चैत्यमा कार्यसमिति सदस्य, सल्लाहकार मात्र बसेर पूजापाठ गरी ल्होसार मनाउन लागिएको बताउ5g ।

विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होसारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली निकालिने गरिएको थियो । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गर्ने गरिएकामा त्यो पनि स्थगित गरिएको जनाइएको छ ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजा पाठका कार्यक्रम गरी ल्होसार मनाइने बताइएको छ । देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको छ

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्षनेताद्धारा शुभकामना व्यक्त

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख लगायत शीर्षनेताहरुले पनि सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होछारबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन ।

यस्तै, उपपराष्ट्रपति नन्दबहादुर पुनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताए ।

उपराष्ट्रपति पुनले तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको छुट्टै पहिचान रहेको स्मरणसमेत गर्नुभएको छ । सोनाम ल्होछारले सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै सोनाम ल्होछार पर्व मनाउन आह्वान गरेका छन । पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले गरेका छन ।

सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन । उनले यस पर्वले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

यसैगरी, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सबै जाति, भाषा, धर्म क्षेत्रका नेपालीहरु एकबद्धता भई विकास र समृद्धिको बाटोमा अघि बढ्नु जरुरी भएको बताएका छन  ।

नेकपा एमालेका अध्यक्ष केपी ओली ओलीले मौलिक पुँजीका रूपमा रहेको नेपालको बहुसांस्कृतिक विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन । उनले मुलुकका विभिन्न जातजातिका संस्कृतिमा आधारित पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधार भएको बताएका छन ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने यस पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन  ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले चन्द्र पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्वको छुट्टै साँस्कृतिक महत्व रहेको बताए ।

‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा रहेका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति हुन्,’ उनले भने  ‘सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो । यस्ता पर्वहरूले हाम्रा मौलिक संस्कृति प्रवर्द्धन गर्न, सामाजिक सद्‍भाव अभिवृद्धि गर्न र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपुर्ण योगदान गरेका छन् ।’