राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु विदेशमा बसोवास गरिरहेको देखाएको छ ।

१० वर्षको अवधिमा नेपालबाट विदेशिने महिलाको संख्या भने ह्वात्तै बढेको छ । २०६८ सालको तुलनामा २०७८ मा आइपुग्दा विदेशिने महिलाको संख्या ७१.०९ प्रतिशतले बढेको पाइएको हो ।

दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरुष १६ लाख ८४ हजार २९ अर्थात ८७.६४ प्रतिशत थिए । यस्तै महिला २ लाख ३७ हजार ४०० अर्थात १२.३६ प्रतिशत थिए । तर २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोवास गरेका देखिन्छन् । जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरुष (८१.२८ प्रतिशत) र ४ लाख ६ हजार १०३ महिला (१८.७२ प्रतिशत) रहेका छन् ।

भौगोलिक क्षेत्रअनुसार विदेशिने जनसंख्याको विश्लेषण गर्दा तराईबाट १० लाख ६५ हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ जना देखिएको तथ्यांकमा उल्लेख छ ।