सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिन सुरू गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिने भएको हो।

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टर मात्रा उपलब्ध हुने महाशाखाले जनाएको छ।

८ वटा सरकारी अस्पताल र नाकासहित ९ वटा निजी अस्पतालबाट खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जस अनुसार नेपाली सेनाको अस्पताल (छाउनी), नेपाल प्रहरी अस्पताल (महाराजगञ्ज), सशस्त्र प्रहरी अस्पताल (बलम्बु), त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज), वीर अस्पताल महावौद्य, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, शहीद शुक्रबार अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट बुस्टर डोज दिइने छ ।

त्यसैगरी, सुभेक्षा अस्पताल सितापाइला, जनमैत्री अस्पताल बालाजु, पिपुल्स डेन्टल कलेज सामाखुशी, नर्भिक अस्पताल थापाथली, नोभेल अस्पताल सिनामंगल, बयोधा अस्पताल बल्खु , शहीद मेमोरियल अस्पताल कलंकी, नयाँ बसपार्क, एपेक्स पोलिक्लिनिक जडिबुटीबाट पनि बुस्टर खोप लिन सकिन्छ ।

काठमाडौंमा आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि केही तयारी नपुगेपछि सोमबारदेखि खोप लगाइने भएको हो।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ।

माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुष्टर मात्रा खोप लगाइनेछ। उनीहरूलाई माघ १४ देखि खोप लगाइनेछ।