कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको उद्धारमा भएको अनियमितता छानबिनका लागि समिति गठन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर्ड फ्लाइटमा भएको अनिमियताका विषयमा छानबिन गर्न बिहीबार समिति गठन गरेको हो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समिति सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन ।

बिहीबार गठन भएको उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुइटेलले बताए । समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।