धनुषामा प्रहरीले गोली चलाउँदा दुइ प्रहरीसहित ७ जना घाइते भएका छन् ।
आइतबार विहानैदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक प्रदर्शन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड रबर बुलेट चलाएको थियो ।
धनुषा प्रहरीका अनुसार ११ राउण्ड रबरको बुलेट र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो ।
रबरको बुलेट लागेर जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।
त्यस्तै, झडपका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी दुई जना घाइते भएका छन् ।
हाल राजमार्ग सञ्चालनमा आइसकेको छ ।
किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि चक्काजाम गर्दै आएको छ ।








