राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय पनि शनिबार सकिएको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सातै प्रदेशको राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराएका छन भने नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेश, लोकतानित्रक समाजवादी पार्टी नेपालले प्रदेश २ र सुदूरपश्चिम प्रदेशका लागि तथा ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ को राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गरेको छ ।

आयोगमा दर्ता भएका एक १०३ दलमध्ये १२ वटा दलले निर्वाचन प्रक्रियाका लागि दल दर्ता गराएको आयोगले जनाएको छ ।

माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

उन्नाइस पदका लागि हुने उक्त निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन् । यस निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको कार्यकाल पनि सोही मितिमा पूरा हुनेछ ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा सदस्यको पदावधि छ वर्ष भए पनि पहिलोपटक २०७४ सालमा निर्वाचित सदस्यहरुको कार्यकाल गोलाप्रथाद्वारा निर्धारण गरिएको थियो । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नपर्ने प्रावधान छ ।

उक्त निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।