प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छ्न । सोमबार भएको त्रिविको ४७ औं दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन् ।
उनले विश्वविद्यालयको स्तर उच्च बनाउन सबै प्राध्यापक, कर्मचारी र विधार्थीबीच सहकार्य,सहयोग र सद्भाव सदैव आवश्यक पर्नेमा ध्यानाकर्षण गराए ।
उनले भने, ‘मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्दछ।’
०७७ असार १ देखि ०७८ जेठ मसान्तसम्म तोकिएका सम्पूर्ण मापदण्ड पूरा गरी ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी दीक्षित हुन लागेका हुन्।
चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत १ हजार ३४०, इन्जियरिङ अध्ययन संस्थान अन्तर्गत ८२६, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत २ हजार ९७४, कृषि र पशुविज्ञान अध्ययन संस्थानअन्तर्गत ४६२, वन विज्ञान अध्ययन संस्थानअन्तर्गत २७९ व्यवस्थापन संकायअन्तर्गत ८ हजार ३४३, शिक्षाशास्त्र संकायअन्तर्गत ७ हजार ११८, मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत ७ हजार ५०७ र कानुन संकाय अन्तर्गत ८८० दीक्षित हुने त्रिविले जनाएको छ।
सहभागी २९ हजार ७२९ मध्ये साधारणतर्फ २३ हजार ८४८ र प्राविधिक शिक्षातर्फ ५ हजार ८८१ विद्यार्थी रहेको छन्।








