नेपाली कांग्रेसका थप पाँच सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ । पाँच सहमहामन्त्रीको नतिजा आएसँगै कांग्रेसका सबै पदाधिकारीको मतगणना सकिएको छ ।
खसआर्यतर्फ किशोरसिंह राठौर, मुस्लिममा फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट बद्रि पाण्डे, थारुतर्फ उमाकान्त चौधरी र मधेसीतर्फ महेन्द्र यादव सहमहामन्त्रीमा निर्वाचित भएका हुन ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार सम्पन्न मतगणनामा खसआर्यतर्फको सहमहामन्त्रीमा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह राठौर निर्वाचित भएका हुन । राठौरले २५७६ मत पाउदा चालिसेले २०५९ मत पाएका थिए ।
मुस्लिमतर्फको सहमहामन्त्रीमा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह मन्सुर विजयी भएका छन । मन्सुरले २ हजार ७७६ र वकिलले १ हजार ८७५ मत प्राप्त गरे ।
पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाहीलाई पराजित गर्दै बद्रि पाण्डे निर्वाचित भएका छन । पाण्डेले २ हजार ४११ मत र शाहीले २ हजार १३३ मत पाएका थिए । तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाएका थिए ।
थारुतर्फको सहमहामन्त्रीमा निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त चौधरी विजयी भएका छन । उमाकान्त चौधरीले २७ सय ५६ मत पाउँदा तेजुलाल चौधरीले १८ सय ७७ मत ल्याए ।
मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित भएका छन । उनले रामकृष्ण यादवलाई पराजित गरेका हुन् ।
बिहीबार महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्देम्बे निर्वाचित भएका थिए ।








