प्रतिनिधिसभाको हिउँदे अधिवशेनको पहिलो बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधकैबीचमा सम्पन्न भएको छ ।
विभिन्न ६ अध्यादेश पेस गर्दै अर्को बैठक पुस ६ गते बस्ने गरी प्रतिनिधि सभाको आजको बैठक समापन भएको हो ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही कार्यसूची अनुसार अगाडि बढाएका थिए ।
प्रतिपक्षी दलले अवरोध कायम गरेपछि सभामुख सापकोटाले गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए ।
आजको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस भए ।
त्यस्तै रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पनि बैठकमा पेस भए ।








