नेपालमा ओमिक्रोन भेरियन्ट देखिएसँगै निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङगको कार्यलाई थप प्रभावकारी बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन ।
ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न प्रयास जारी राखेको जनाएको छ । नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेको, खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाका भई प्रवेश गर्ने पूर्णमात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुको एन्टिजेन परीक्षण गर्ने गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।
एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाको नमूना सङकलन गरी पिसिआर गर्ने र शङ्कास्पद नमूनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको बताउदै सहप्रवक्ता डा अधिकारीले विगत एक महिना अगाडिदेखि पोजिटिभ भएका नमूनाको थप परीक्षण गर्ने गरिएको पनि बताए ।
कोभिड–१९ का अरु भेरियन्ट जस्तै ओमिक्रोनको सङक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सवै मापदण्डको पालना (मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत रामो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकाले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ ।
ओमिक्रोन भेरियन्ट विश्वका ३५ देशमा फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ति देशमा ५७४ जना उक्त भेरियन्टबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आकलनअनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण एशियाका केही देशमा समेत ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । भारतमा गत शुक्रबार मात्र संक्रमण भएको पुष्टि भएको थियो ।
-रासस








