नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्ययक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेल निर्विरोध निर्वाचित भएका छन

यस्तै उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत चुनिएका छन् ।

चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्ययक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल तथा उपमहासचिवमा ज्ञवाली, गुरुङ र रिमाललाई प्रस्ताव गरेका थिए ।

सोमबार बिहान मनोनयन गर्ने समयसम्म पनि अरु कसैले उम्मेदवारी नदिएपछि वरिष्ठ उपाध्ययक्ष, महासचिव तथा तीनै जना उपमहासचिव सर्वसम्मत भएका हुन् ।

अध्यक्षमा भने केपी शर्मा ओली र डा भीम रावलको उम्मेदवारी परेको छ । बन्दसत्रमा आइतबार अध्यक्ष ओलीबाट प्रस्ताव गरिएका उम्मेदवारविरुद्ध उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टङ्क कार्कीले उम्मेदवारी दिएका छन ।

केन्द्रीय सदस्यमा पनि सहमतिको प्रस्तावका अतिरिक्त केही क्षेत्रका सदस्यमा उम्मेदवारी परेको र ती नामावालीको छानविन तथा दाबी विरोधको प्रक्रिया पूरा भएपछि आन्तिम नामावली प्रकाशन गरिने आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।

उनले विद्युतीय भोटिङ मेसिनमा डाटा इन्ट्री गर्न कम्तीमा १२ घण्टा लाग्ने भएकाले मतदान आज रातिसम्ममा सुरु हुनसक्ने बताए । हलमा सहमतिका लागि अध्यक्ष ओलीले उम्मेदवारको नाम प्रस्ताव गरे पनि निर्वाचन प्रयोजनका लागि प्रक्रिया गर्नैपर्ने उनले जनाए।