माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे ‘टंकमणि’को सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

दाङबाट बुटवल आउने क्रममा मंगलबार राति ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।

घाइते बन्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान साढे बजे मृत्यु भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए । दाङमा घाइते अपांगको बैठकमा सहभागी भएर फर्कंदै गर्दा बुटवल जितगढीमा दुर्घटना भएको थियो ।

बन्जाडे शहीद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्षसमेत रहेका थिए । उनी माओवादी केन्द्र रुपन्देहीका इन्चार्जसमेत थिए ।

५५ वर्षीय बन्जाडेको निधनमा पार्टीले शोकसभा गरेर अन्त्येष्टि गर्नेछ । अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडेका श्रीमती, एक छोरा र एक छोरी छन् ।