प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका कारण न्यायालयमा विसंगती फैलिएको भन्दै नेपाल बार एशोसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको छ ।
सोमबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधानन्यायाधीश जबराका कारण न्यायालयमा विवाद र विसंगती फैलिएको भन्दै सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो ।
प्रधानन्यायाधीश जबरालाई बहिर्गमन गर्नुपर्ने आधार, कारण र आरोपसहित सभामुखलाई ज्ञापनपत्र बुझाइएको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने भनेको छ ।
बारको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले तीनवटै अंगको गरिमा कायम हुनुपर्ने बताएका छन् । साथै, निष्पक्षता, तटस्थता र स्वतन्त्र रूपमा पहल गर्ने सभामुख सापकोटाले बताए ।
यसैबीच बारका पदाधिकारीहरुले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई पनि ज्ञापनपत्र बुझाएका छन । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले दिउँसो २ बजे सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन ।








