पछिल्लो २४ घण्टामा नेपालमा एक लाख बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक लाख तीन हजार २०९ जनाले खोप लगाएका हुन् ।
यसैबीच दीर्घरोगीलाई मात्र लगाउन सुरु गरिएको फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगी बाहेकलाईसमेत लगाउन थालिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले फाइजर खोप १८ वर्ष मुनिका बालबालिकालाई समेत लगाउन सुरु गरिएको जानकारी दिए । दीर्घरोगीलाई लगाउँदा खोप बाँकी भएपछि अन्य उमेर समूहकालाई दिइएको उनको भनाइ छ ।
पहिलो चरणमा आएको फाइजर खोप मङ्सिर चारसम्म लगाउने भनिएकोमा खोप बाँकी रहेपछि यसलाई निरन्तरता दिएको डा. अधिकारीको भनाइ छ ।
सरकारले गत महिना कात्तिक आठ गते एक लाख ६२० मात्रा फाइजर खोप ल्याएको थियो । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले फाइजर खोप १२ देखि १५ वर्ष उमेर समूहमा प्रभावकारी हुनुका साथै ९५ प्रतिशत प्रभावकारी हुने उल्लेख गरेको छ ।
अहिले सरकारले उपत्यकामा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवी शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण गरी आठवटा खोप केन्द्रबाट फाइजर खोप लगाइरहेको छ । यस्तै काठमाडौँ उपत्यका बाहिर प्रमुख अस्पतालबाट पनि फाइजर खोप लगाइएको छ ।








