प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीकाबीच बिहीबार बसेको प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ ।

बैठकमा गजेन्द्र हमालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाएका थिए । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

बैठकमा सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरेका थिए ।

एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस नगरेको भन्दै एमालेले निरन्तर अवरोध र नाराबाजी गर्दै आएको छ ।

अर्को बैठक कात्तिक २९ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।