सङ्खुवासभाको मादी नगरपालिका–१ मा ६ जनाको सामूहिक हत्या भएको घटनाका मुख्य आरोपी  लोकबहादुर कार्कीका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

शंका लागेपछि थप अनुसन्धानका लागि भन्दै लोकबहादुरका भाइ नरेश कार्कीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जनाएका छन् ।

हत्यामा ज्यान गुमाएकी रञ्जना कार्कीको मोबाइल लोकबहादुरको घरमा भेटिएकोमा सो मोवाइल नरेशले लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।

गत भदौ २१ मा ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

हत्यापछि अनुसन्धानका लागि सङ्खुवासभा पुगेको प्रहरीको टोलीले घटना भएको ५ दिनपछि आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको थियो ।

लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको र त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।