पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४०४ सहित देशभर थप १५६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ६६ हजार ९०५ जना पुगेको छ ।

१० हजार २६६ जनामा पीसीआर परीक्षण गर्दा ११८० जना र ४१७७ एन्टिजेन परीक्षणमा ३८२ जनामा गरी १५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २९४, ललितपुरका ६२ र भक्तपुरका ४८ जना गरी ४०४ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५८९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ४२ हजार ३०६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०९८४ पुगेको छ ।