प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।

बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयक उपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । सैद्धान्तिक छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए ।

विधेयक स्वीकृत भएपछि शोक प्रस्ताव पारित गर्दै असोज ४ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

एमालेले आफूले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्तको सूचना टाँस्न दबाब दिन निरन्तर बैठक अवरोध गर्दै आएको छ ।