एकै परिवारका छ जनाको सामुहिक हत्या गरिएको मादि हत्या काण्डका एक आरोपिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नातामा भान्जा पर्ने २६ वर्षीय एक युवा रहेका छन ।

आरोपीलाई भोलि (आईतबार) चैनपुर ईलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी लालध्वज सुवेदीले जानकारी दिए ।

अनुसन्धानको क्रममा पर्याप्त प्रमाणहरु जुटिसकेको र आरोपीले पनि हत्या आफुले गरेको स्वीकारेको बुझिएको छ । यद्यपी प्रहरीले भने अनुसन्धानको केहि पाटो बाकी नै रहेकाले घटनाबारे भोली नै सबै कुरा बताउने जानकारी दिएको छ ।

घटना पछि अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिस्पी लालध्वज सुवेदीको टोलीले अनुसन्धान गर्दै आएको छ ।

गत सोमबार राती मादि नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या गरिएको थियो । घरमा रहेका सात जना मध्ये ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल भेटिएका थिए । घटनामा बौद्धमानका छोरा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी श्रीमती ८० वर्षीया पार्वती कार्की, बुहारी ५६ वर्षीया मनमाया ९कमला० कार्की, नातिनी बुहारी २८ वर्षीया रञ्जना कार्की, पनाती १० वर्षीय दिपेन कार्की र पनातीनी ५ वर्षीया गोमा कार्की मृत अवस्थामा भेटिएको थियो ।