भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनको घटनाप्रति सरकारले आपत्ति जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ती जारी गरेर आपत्ति जनाएका हुन्।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विगत केही दिनयता छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुतला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।’

सरकार सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने उल्लेख गर्दै नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्ध गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको उल्लेख गरेको छ। मन्त्रालयले मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह समेत गरेको छ।

मित्रराष्ट्रहरूविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ।

मोदीको पुतला दहनप्रति गृह मन्त्रालयको आपत्ति