सर्वोच्च अदालतमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट निवेदनमाथि आज सुनुवाई हुने भएको छ । उक्त रिट माथिको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ ।
निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै गत साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफूलाई गैरकानुनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन । शाक्यले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, ऊर्जा मन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध दायर गरेका रिट निवेदनमाथि पनि सुनुवाइ हुने भएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ हुन लागेको सर्वोच्चले जनाएको छ । एमाले अध्यक्ष ओली आफैं सर्वोच्च अदालत उपस्थित भएर निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।








