सुदूरपश्चिम प्रदेशमा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका १० सांसदले माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
मंगलबार उनीहरुले औपचारिक रूपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन ।
सनाखतका लागि १३ जना सांसदहरु निर्वाचन कार्यालय पुगेकोमा ३ जना सांसद भने कागजपत्र नपुगेकाले फर्किएका छन । उनीहरुको पनि बुधबारसम्म सनाखत हुने बताइएको छ ।
नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्ने प्रदेश सांसदहरुमा पूर्णा जोशी, लालबहादुर खड्का, माया भट्ट, चुनकुमारी चौधरी, मनाकुमारी साउँद, दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकी रहेका छन भने सनाखत हुन बाकी सांसदहरुमा दीर्घबहादुर सोडारी, अर्चना गहतराज र तारा लामा तामाङ रहेका छन ।
सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद रहेकोमा नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पक्षमा १४ सांसद रहेको दावी गरेको छ । यहाँ माओवादी केन्द्रको १२, कांग्रेसका १२ र जसपाका २ सांसद छन् ।








