पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७९५ सहित देशभर थप २६२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ५ हजार १९० जना पुगेको छ ।

८ हजार ६६७ जनामा पीसीआर परीक्षण गर्दा १९४७ र ४९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५३५, ललितपुरका १६४ र भक्तपुरका ९६ जना गरी ७९५ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३२० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०२५९ पुगेको छ ।