प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक आज सोमबार बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा विहान ११ बजे स्थायी कमिटी बैठक र दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँकाअनुसार स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गर्नेछ । विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते गर्ने निर्णय गरिसकेको एमालेले पार्टीको वडा, पालिकास्तरको अधिवेशनको पनि निर्णय गर्नेछ ।
साउन १८ गते बसेको स्थायी कमिटी बैठकले विभिन्न नौ वटा विभाग गठन गरेको थियो । सो विभागलाई आजको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने पार्टी कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । विधान महाधिवेशनअघि एक महिनाअघि त्यसको मस्यौदा अध्ययनका लागि पार्टी पङ्तिमा पठाउनुपर्ने प्रावधान रहेकाले केन्द्रीय कमिटीबाट पारित मस्यौदालाई अध्ययनका लागि तल्लो स्तरसम्म पठाउने निर्णय हुने पनि नेता तामाङले बताउनुभयो ।
पार्टीको विधानबारे सुझाव लिनेक्रम एमालेले जारी राखेको छ । गत आइतबार बसेको बैठकले विधान महाधिवेशन तयारीका लागि विभिन्न कार्यदल गठन गरेको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको बैठक केही समय रोक्न आग्रह गरेको थियो । आइतबारका लागि तय गरिएको बैठक आज सोमबारका लागि सारिएको थियो । पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफल जारी राख्ने र पार्टीको नियमित बैठक पनि जारी राख्ने नेता तामाङले जानकारी दिनुभयो ।








