पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १२७९ सहित देशभर थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ६९ हजार ९२२ जना पुगेको छ ।
११ हजार ३५४ जनामा पीसीआर परीक्षण गर्दा २९७५ र ४९४४ एन्टिजेन परीक्षणमा ११३२ जना गरी ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ९०८, ललितपुरका १६५ र भक्तपुरका २०६ जना गरी १२७९ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५३५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९९५७ पुगेको छ ।








