पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७१९ सहित देशभर थप ३१०८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख २१ हजार ६१७ जना पुगेको छ ।

८ हजार ८३६ जनामा पीसीआर परीक्षण गर्दा २२०२ र ४२९९ एन्टिजेन परीक्षणमा ९०६ जना गरी ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५३१, ललितपुरका १४७ र भक्तपुरका ४१ जना गरी ७१९ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५९५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख ३४ हजार ९२७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९६०७ पुगेको छ ।