नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा बस्नेछ।
बैठकले हिजो स्पष्टीकरण सोधेका वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदलाई कारबाही गर्ने तयारी गरेको छ। केन्द्रीय सदस्य महेश बस्नेतले आज दिउँसो २ बजेसम्म समय दिएर स्पष्टीकरण सोधिएको र जवाफ नआए ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने बताए ।
तर अर्का केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले भने स्पष्टीकरण पत्र सबैलाई पुगिनसकेकाले आजको बैठकमा संगठन र विधान अधिवेशनका विषयमा छलफल केन्द्रीत हुने बताए।
माधव नेपाल पक्षले भने स्पष्टीकरण माग्नु सर्वोच्च अदालतको फैसला विपरित रहेको भन्दै जवाफ नदिने निश्कर्ष निकालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई माधव नेपालसहित २२ सांसदले विश्वासको मत दिएपछि हिजो बसेको केन्द्रीय कमिटीको बैठकले २४ घण्टे स्पष्टीकरण माग गरेको थियो ।
संसद पुनस्र्थापना गर्दा सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री चयन हुँदा पार्टीको ह्वीप नलाग्ने र ह्वीप नमानेका आधारमा कारबाही पनि गर्न नमिल्ने फैसला गरेको छ।








