ललिता निवास बालुवाटार जग्गा प्रकरणमा मुछिनु भएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ ।

विशेष अदालतले गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो ।

बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्कीसहितको इजलासले गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो ।

विशेष अदालतको म्याद बुझ्न अस्वीकार गर्दै आउनुभएका गच्छदार बुधबार बिहान १० बजे अदालत उपस्थित हुनुभएको थियो । प्रवक्ता पाण्डेयका अनुसार बिहान १० बजेबाट शुरु भएको बयान दिउँसो २ बजे सकिएको थियाे ।

२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धन आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको अराेपमा गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर अनुसार मुद्दा दायर गरेको थियो । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

गच्छदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरिएको थियो । श्रेष्ठ पाँच हजार रुपियाँ धरौटीमा छुटनु भएकाे थियाे भने जोशीलाइ साधारण तारेखमा अदालतले छाडेको थियो ।

गच्छदारले पटक–पटक उपप्रधानमन्त्रीसहित महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ ।