नेकपा (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलको आज बसेको बैठक गम्भीर एवम् सकारात्मक रहेको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बताए ।

उनले पार्टी एकताका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग पनि भेट गरी आज साँझसम्म टुङ्गोमा पुर्याइने पनि बताएका छन ।

यसपश्चात् भोलिसम्म कार्यदलको बैठक औपचारिकरुपमै टुङ्गोमा पुग्ने नेता नेम्वाङले बताए । समग्रमा एमाले कार्यदलको बैठक आशावादी रहेको उनको भनाइ छ ।

यस्तै आजको कार्यदलको बैठक निष्कर्ष उन्मुख रहेको बताउदै एमाले पार्टी प्रवक्ता एवम् कार्यदलका नेता प्रदीपकुमार ज्ञवालीले पार्टी एकताका सम्बन्धमा भोलि बिहीबारसम्म टुङ्गो लाग्ने पनि बताए ।

एमालेभित्रको विवाद मिलाउन पछिल्लो केही दिनदेखि दुवै पक्षका नेतासम्मीलित कार्यदल निरन्तर छलफलमा छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि निष्कृय रहेको कार्यदल असार २१ गते पुनः सक्रिय भएको थियो ।