निर्वाचन आयोगले मध्यावधि निर्वाचनको काम अघि बढाएको छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा किनारा लाउनै लाग्दा आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो।

सरकारले संसद् विघटन गरेर कात्तिक २६ र मंसिर ३ मा दुई चरणमा निर्वाचन गर्ने मिति घोषणा गरेपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचनमा सहभागी हुनका लागि राजनीतिक दललाई असार ३१ देखि साउन १५ गतेसम्म दर्ता गर्न आह्वान गरेको छ। आयोगले भदौँ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको छ।

आयोगको कार्यतालिका अनुसार पहिलो चरणको चुनावको लागि असोज २० र २१ गते उम्मेदवारी दर्ता गर्ने र दोस्रो चरणको लागि असोज ३१ र कार्तिक १ मा उम्मेदवारी मनोनयनको समय तोकेको छ।

पहिलो चरणको असोज २५ गते र दोस्रो चरणका लागि कात्तिक ७ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।