रुपन्देहीको देवदह नगरपालिकामा मंगलबार साझ भएको सवारी दुर्घटनामा परि त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक तथा कांग्रेस नेता चन्द्र भण्डारीका भाई डा शंकर भण्डारीको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको बा १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी डा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । चरङ्गे मुढाबास भन्ने स्थानमा आउँदा कल्भर्टबाट ठोक्किएर उक्त कार पानीको रहमा खसेको थियो ।

राती साढे ८ बजेतिर भएको दुर्घटनापछि गम्भीर घाईते भण्डारीलाई उपचारका लागि बुटवल अवस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

रुपन्देहीको तिलोत्तमा २ योगिकुटी निवासी अन्दाजी ५२ बर्षिय भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाई हुन् । परिवारसहित काठमाण्डौमा बस्दै आएका भण्डारी बुवाको बार्षिक स्मृतीको कार्यक्रममा सहभागी हुन आईतवार रुपन्देही आएका थिए । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ताले भण्डारीसगै उनका आफन्त थानेश्वर भण्डारी पनि कारमा रहेकोमा उनको अवस्था भने सामान्य रहेको बताए ।