प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत बार एशोसिएसनले दुईजना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीमा सिफारिस गरेको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतको सहयोगी (एमिकस क्युरी) पठाएको हो ।
असार ९ गतेदेखि निरन्तर हुने सुनुवाइमा संवैधानिक इजलासले सर्वोच्च बार र नेपाल बारलाई दुई-दुई जना एमिकस क्युरी पठाउन आदेश गरेको थियो । नेपाल बारबाट भने अझै नाम टुंगो लागेको छैन् ।
गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा अोलीले विघटन गरेको प्रतिनिधिसभाविरुद्धको रिटमा असार ९ गतेबाट सुनुवाई सुरु हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्नका लागि संवैधानिक इजलास गठन गरेका थिए । इजलासले जेठ २६ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।








