चीन सरकारले अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप लिन आज सोमबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ । चीन सरकारले दोस्रोपटक अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लिन निगमको जहाज त्यसतर्फ जाने भएको हो ।

बेइजिङस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले चिनियाँ अनुदानको खोप लिन निगमको वाइड बडी जहाज सोमबार राति काठमाडौंबाट बेइजिङका लागि उड्ने र मंगलबार अपराह्न २ बजे काठमाडौँ अवतरण गर्ने तालिका रहेको जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको झन्डै पौने घण्टाको फोन वार्ताका क्रममा चिनियाँ समकक्षी सी जिनफिङले नेपाललाई आकस्मिक प्रयोगका लागि १० लाख चिनियाँ खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो ।

सो खोपमध्ये चीनको केन्द्रीय सरकारले दिने ८ लाख मात्रा निगमको जहाजले मंगलबार नेपाल ल्याउनेछ भने बाँकी दुई लाख मात्रा नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले युनानको कुन्मिङबाट ल्याउने भएको छ ।