बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई भोट नदिने एमालेका माधव नेपाल समूहका प्रदेशसभा सांसदलाई स्पष्टीकरण सोधिएको छ । जेठ ६ गते भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवार बादललाई भोट नदिएको भन्दै नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले नेपाल समूहका १४ प्रदेशसभा सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते भएको उपनिर्वाचनमा नेपाल समूहले गठबन्धनका उम्मेदवा डा खिमलाल देवकोटालाई भोट हालेका थिए । पार्टीले बादललाई भोट हाल्न भने पनि नेपाल समूहले पार्टीको निर्देशनविपरीत भोट गरेर बादललाई उपनिर्वाचनमा पराजय गरेको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले सांसदहरुलाई आइतबार साँझ ५ बजे भित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।
स्पष्टीकरण सोधिएका मध्येमा अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, राजेन्द्र पाण्डेसहित रचना खड्का , कुसुम कार्की, मुनु सिग्देल, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्त मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवाली रहेका छन् ।








