नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ ।

तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि गएराति करीब ११ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

पाण्डेको पेट र कम्मरको बायाँ भागमा दुई वटा गोली लागेको छ । पाण्डेसँगै मोटरसाईकलमा सवार भारतीय नागरिक ईराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ ।

पाण्डेसहित एउटा मोटरसाइकलमा ३ जना तौलिहवा तिर जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाईकलमा सवार ३ जनाले गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

घाइते पाण्डेलाई उपचारका लागि डीएसपी धर्मराज भण्डारीले बुटवल लगेका थिए । त्यहाँ भर्ना नलिएपछि बिहीबार बिहान भैरहवास्थित मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।