कोभिड –१९ को दोश्रो लहरसंगै दक्षिण एसियाको विभिन्न मुलुक लगायत नेपालमा पनि यसको प्रभाव बढ्नुको साथै कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । यसको दोस्रो लहर शुरु हुनु अघिका विभिन्न मेला,जात्रा, खेलकुद कार्यक्रम तथा राजनैतिक क्रियाकलापले अहिले यसबाट संक्रमितको संख्या बढेको विज्ञहरुले औल्याएका छन् ।

संक्रमितहरुको सहजताको लागि काठमाडौं महानगरपालिका वडा नं. ९ मा रहेका विभिन्न संघसंस्थाहरुको पहलमा आइसोलेशन सेन्टर संचालनमा आउने भएको छ । कृति फाउण्डेशन, सिनामङ्गल युथ एलायन्स, नव न्यानो फाउण्डेशन, मिर्मिरे युवा क्लव र विजयचोक युथ क्लवको संयुक्त पहल र सक्रियतामा मातृका आँखा केन्द्रको सहयोगमा काठमाडौँ महानगरपालिका वडा नम्बर ९ तिलगंगामा रहेको शारदा माध्यमिक विद्यालयमा १५ शैयाको आइसोलेशन केन्द्र बन्दै गरेको विजय चोक युवा क्लवका महासचिव सन्तोष नेपालले जानकारी दिए ।

स्थानीय संस्थाको पहलमा काठमाडौमा आइसोलेशन सेन्टर संचालनमा आउँदै

यहि जेठ ६ गतेबाट संचालनमा आउने उक्त आइसोलेशन सेन्टरको मुख्य उद्देश्य अहिले बढ्दै गएको यो अंकगणितमा ब्रेक लगाउनु तथा कोभिड –१९ का संक्रमित व्यक्तिको घरमा आफ्नो परिवारसँग बस्दा यो संक्रमण व्यक्ति व्यक्तिमा फैलिने जोखिम रोक्न रहेको नेपाल स्काउटका राष्टिय प्रशिक्षक तथा कृति फाउन्डेसनका अध्यक्ष गुणराज प्याकुरेल बताउँछन् । साथै यस्ता सामुदायिक आइसोलेशन अझै धेरै स्थान स्थानमा खोल्नुपर्नेमा पनि उनले जोड दिए ।

स्थानीय संस्थाको पहलमा काठमाडौमा आइसोलेशन सेन्टर संचालनमा आउँदै

सामुहिक प्रयास र स्थानीय जनसहभागिता र युवा स्वयंसेवकहरूबाट यस्ता कार्यहरु स्वस्फूर्त रुपमा चल्नु पर्ने सिनामङ्गल युथ एलायन्सका देवेन्द्र आचार्यको विचार छ । उक्त आइसोलेशन सेन्टरमा खाना, औषधि तथा बिरामीलाई दिइने सम्पूर्ण सेवा निःशुल्क हुने बताउँदै यो आइसोलेशन केन्द्र मातृका आँखा केन्द्रको सामाजिक उत्तरदायित्व बोध गरी बनाउन लागिएको उक्त केन्द्रका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।