एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना माग पूरा गर्न दिएको अल्टिमेटम समाप्त भएको छ ।
आइतबार साँझ बसेको उक्त समूहका सांसदहरूको बैठकले पार्टी संगठनलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन भन्दै ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो ।
तर, ९ बजेसम्म ओली पक्षबाट कुनै सकारात्मक पहल नभएकाले अब राजीनामा दिनु नै आफूहरूको अन्तिम विकल्प हुने उक्त समूहका सांसदहरूले बताएका छन् । यही विषयमा छलफल गर्नका लागि खनाल-नेपाल समूहका सांसदहरु अहिले संघीय संसद सचिवालय सिंहदरबारमा भेला भैरहेका छन ।
यता खनाल-नेपाल समूहको मागका विषयमा छलफल गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेल बालुवाटार गएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । खनाल-नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिए प्रधानमन्त्री ओली अल्पमतमा हुनेछन् । यस्तोमा ओलीले विश्वासको मत पाउने छैनन् र पदमुक्त हुने अवस्था निम्तनेछ।








