संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ ।

बैठकपछि राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाले भन्नुभयो, “परिषद्को बैठकले खाली रहेका संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ, नामबारे लिपिबद्ध भएपछि मात्र औपचारिक प्रक्रियाबाट सार्वजनिक हुनेछ ।”

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा जानुभएन ।

लोक सेवा आयोगमा पूर्वसचिव रेग्मी सिफारिस

संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्ने निर्णयसँगै लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

आयोगको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित गरिएकामा झापा गौरादह–३ का रेग्मीलाई नियुक्तिको सिफारिश गरिएको हो । रेग्मी प्रधानमन्त्री ओलीको गृहनगरका हुनुहन्छ ।

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

रासस