लुम्बिनी प्रदेश नेकपा एमालेमा सरकार गठनको विषयलाई लिएर संकट चुलिएको छ । आइतबार पदबाट राजीनामा दिएका मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेललाई पुन: मुख्यमन्त्री नियुक्त गरिएलगत्तै एमालेकै सांसदहरुले राजीनामा र समर्थन फिर्ताको घोषणा गर्न थालेका हुन ।
पोखरेललाई मुख्यमन्त्री बनाइएपछि असन्तुष्टि जनाउँदै प्रदेश सांसद दृगनारायण पाण्डेले लिखित वक्तव्य नै निकालेर पदबाट राजीनामा दिएको घोषणा गरेका छन । पाण्डे कपिलवस्तु क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन ।
यस्तै सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले विपक्षी माओवादी-कांग्रेस गठबन्धनलाई साथ दिने घोषणा गरेका छन । श्रीवास्तव कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट र शाही नवलपरासी १ (ख) बाट विजयी सांसद हुन ।
हृदयश त्रिपाठीसँग नजिक रहेका दुबै जनाले सूर्य चिह्नबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहमा रहेको र एमालेको सदस्य नरहेको दावी गरेका छन ।








