प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा उदघाटन गर्नुभएको छ ।

धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टि गरेका थिए । त्यहाँबाट उनले काठमाडौ उपत्यका अवलोकनसमेत गरे ।

धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन ।

छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा ढलेको थियो ।

उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न छ वर्ष लाग्यो । छ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनाइएको हो ।