बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ ।
गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भएपनि औपचारिक शुभारम्भ भने राष्ट्रपति विद्यादेवी भण्डारीले आज गर्ने कार्यक्रम छ । काठमाडौंमा विशेष कार्यक्रम गरी उत्सवका रुपमा पानी वितरणको औपचारिक शुभारम्भ गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने बताइएको छ । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।
काठमाडौमा आइतबारदेखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको छ । अहिलेसम्म काठमाडौंको महांकाल, मिनभवन र खुमलटारको ट्यांकीबाट पानी वितरण सुरु भएको छ ।
यता काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा हिजोदेखि पानी पठाउन थालिएको लिमिटेडले जनाएको छ । यस्तै आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण गरिएको छ ।








