नेकपा एमालेको संसदीय दलको बैठकमा खनाल नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने भएका छन् । यसअघि बालुवाटारमा आयोजना गरेको कुनै कार्यक्रममा नजाने भनेको नेपाल पक्षले शुक्रबारको दलको बैठकमा जाने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा संसदीय दलको बैठक बोलाउनु भएको छ । बैठकमा जाने विषयमा यसअघि पनि छलफल भएकोले जाने निर्णय भएको नेपाल पक्षका सांसदहरुले बताएका छन् ।
यसअघि बालुवाटारमा भएको अन्य बैठकमा भने नेपाल पक्ष सहभागी भएको थिएन । नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक पनि आज बस्दैछ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा नेपाल पक्षको बैठक बस्न लागेको हो । सो बैठकपछि नेताहरु माधव नेपाल र झलनाथ खनाल पनि संसदीय दलको बैठकमा बस्ने कि नबस्ने टुंगो लाग्ने नेता योगेश भट्टराइले जानकारी दिनुभयो ।








