कैलालीमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको विषयलाई लिएर चर्किएको विरोध प्रर्दशनमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् ।

आज बिहान धनगढीबाट टीकापुरतर्फ जाँदै गरेको बसले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएपछि मृतकका आफन्त र आक्रोसित स्थानीयले सडक अवरूद्ध पार्दै टायर बालेर प्रदर्शन गरेका थिए ।

शवसहित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहँदा भीडले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता हिक्मत थापाले बताए । उनका अनुसार प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् ।

गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दिपक सन्जेल घाइते भएका छन् । दुवैजनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

आज विहान लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा सोही नगरपालिका १ की २२ वर्षीया कमला देवकोटा बुढाको मृत्यु भएको थियो ।

ठक्करबाट घाइते भएकी उनको लम्कीकै लालरत्न अस्पतालमा उपचारका लागि पुर्‍याउने बित्तिकै मृत्यु भएको र बर्दगोरिया गाउँपालिका १ का ३१ वर्षीय बस चालक पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक थापाले जानकारी दिए । घटनापछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध छ।