राष्ट्रपति विद्यादेवी भण्डारीको दुईदिने बंगलादेश भ्रमणको क्रममा पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता भएको छ ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांस्कृतिक आदानप्रदान र रोहनपुर-सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बंगलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बंगलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका छन् ।

दुईदेशको सम्बन्धलाई अझ प्रगाढ बनाउन यी सम्झौता फलदायी हुने विश्वास लिइएको छ । यसअघि राष्ट्रपति भण्डारीले त्यहाँका समकक्षी मोहम्द अब्दुल हमिदसँग भेटवार्ता गर्नुभयो । भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको थियो ।

यस्तै राष्ट्रपति भण्डारीसँग त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले पनि शिष्टाचार भेट गर्नुभएको थियो । दुबै भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा। एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी थिए ।

भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएकोछ । सोमबार नै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बंगलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका पुग्नुभएको हो । नेपाल वायुसेवा निगमको विशेष विमानबाट ढाका पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई बंगलादेशका राष्ट्रपति हमिदले हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित छन् । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् ।