नेकपा एमालेका शीर्ष नेताहरुबीच चार महिनापछि सुरु भएको संवाद दुवै पक्षको अडानकाबीच सम्पन्न भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरु माधवकुमार नेपाललगायतका नेताहरुलाई बोलाएर छलफल सुरु गरेकोमा दुवै पक्षले आआफ्नो अडान कायम राखेका छन ।

बैठकमा नेपाल पक्षले गत फागुन २८ गतेको निर्णय फिर्ता लिन माग गरेका छन् । तर, अध्यक्ष ओलीले यसलाई अस्वीकार गर्दै कुनै ठोस जवाफ दिएका छैनन ।

बैठकमा सहभागी नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिदै दुवै पक्षले आ आफ्ना अडान राखेकोमा फेरी छलफल गर्नेगरी आजको भेटर्वार्ता सम्पन्न भएको बताए । पन्तले अध्यक्ष ओलीले सकारात्मक प्रयास गर्ने अपेक्षा राखेकोसमेत बताए ।

सर्वोच्च अदालतले नेकपाको कानूनी हैसियत नभएको र पुरानै दुई वटा पार्टी नेकपा एमाले तथा माओवादी केन्द्र रहने गरी फैसला गरेपछि देखिएको पार्टीभित्रको अन्यौल हटाउन एमालेका नेताहरु छलफलमा जुटेका हुन् । नेकपा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला सहमतिको यो प्रयास भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र ७ गते केन्द्रीय समितिको बैठक बोलाएकोमा र यसमा असन्तुष्ट पक्षको सहभागितका बारेमा विभिन्न चर्चा चलिरहेको बेलामा सोमबारको बैठकलाई महत्वपूर्ण मानिएको छ ।

बैठकमा अध्यक्ष ओलीसहित वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भूसाल, नेता सुवासचन्द्र नेम्वाङ, सचिवहरु योगेश भट्टराई, प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी भएका थिए ।