निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई औपचारिकरुपमा खारेज गर्दै नयाँ दलको रुपमा एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

आयोगको २०७५ जेठ २३ को निर्णयले नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नामको राजनीतिक दल दर्ता भइ नेपाल राजपत्रा खण्ड ६८, अतिरिक्ताङ्क ८ (अ) मा प्रकाशन भएको सूचना सो राजपत्रबाट खारेज गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एकीकरणपछि बनेको नेकपा बदर भएकाले अब यी दुई दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा नयाँ नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन दुवै दललाई आग्रह गरिएको छ ।

त्यस्तै आयोगले एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि खाली भएको ती नाममा दल दर्ता गर्नेहरु सन्ध्या तिवारी र गोपाल किराँतीलाई पनि नयाँ नाममा १५ दिनभित्र दल दर्ता गर्न आग्रह गरेको छ ।

नेकपा खारेज गर्दै आयोगले भन्यो-‘एमाले र माओवादी एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनू’ (पत्रसहित)

नेकपा खारेज गर्दै आयोगले भन्यो-‘एमाले र माओवादी एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनू’ (पत्रसहित)