नेपाल सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच भइरहेको वार्ता तीन बुँदे सहमति भएसँगै टुंगिएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका छन ।
सहमति अनुसार अब विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सम्पूर्ण राजनीतिक विषयहरुको समाधान वार्ताको माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा गर्ने र नेपाल सरकारबाट यो पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिने भएको छ । साथै यो पार्टीका कार्यकर्ताहरु माथि लागेका मुद्दाहरु खारेजी गर्ने तथा बन्दी कार्यकर्ता रिहा गर्ने विषयमा पनि सहमति भएको छ ।
यसैबीच दुई वार्ता टोलीबीचको सहमति यही फागुन २१ गते दिउँसो २ बजे सार्वजनिक गरिने र सो विषेश समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने प्रेस नोटमा उल्लेख छ ।
वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।









